राजनीति

अब हामीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले भने, अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ । त्यो हो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ ।’

उनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् । ‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं,’ नेपालको भनाइ छ, ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’