राजनीति

प्रधानमन्त्रीजीले अर्थ मन्त्रालयको फुटेज हेर्नोस् : नेता नेम्वाङ



काठमाडौँ, १६ असार । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् । सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

संसद् दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

उनले भने, “बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसद्मा । अर्थमन्त्रीजीले होइन भन्नुभयो । अब हो कि होइन, म अहिले केही भन्दिनँ । तर, मेरो के आग्रह हो त भन्दा सांसदहरूले उठाए यो अनधिकृत मान्छे प्रवेश गराए भनेर । अर्थमन्त्रीजीले होइन भन्नुभयो । म यसै भन्दिनँ, तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोडन हुन्न,” “सजिलो छ, मेरो सुझाव पनि थियो, म यहाँ पनि दोहोर्‍याउँछु– प्रधानमन्त्रीजीले एकजना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस् । तीनजनाले बालुवाटारमै बसेर वा प्रधानमन्त्री कार्यालयमा बसेर अर्थ मन्त्रालयको फुटेज हेर्दिनोस् न २४ घण्टाको । त्यो फुटेज हेर्दिनोस् । त्यो हेरेर तपाईंहरूले भनेजस्तो त देखिएन भनिदिनुस् । त्यहीँ मान्छौँ हामी । होइन देखियो भने यस्तो देखियो नि भनेर भन्नुस् ।”