भक्तपुर, १६ असार । भक्तपुरको सूर्यविनायक नगरपालिकाले सबै नगरबासीलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने भएको छ ।
नगरपालिकाको ११ औं नगर अधिवेशनले सो निर्णय गरेको हो । त्यसका लागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको छ ।
नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले उक्त निर्णय गरेको नगर प्रमुख बासुदेव थापाले बताए । उनले नगर सभाले सूर्यविनायकमा स्थायी बसोबास गर्ने नागरिकलाई सबै प्रकारका स्वास्थ्य सेवामा १५ प्रतिशत छुट प्रदान गरिने नीति तय भएको बताए ।
यसका लागि नगरपालिकाले जगातिमा सञ्चालन गरिरहेको सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न अस्पताल बनाई सो नीति लागू गरिने भएको छ ।
यसैगरी नगरपालिकाले नगरलाई कोभिढ १९ पूर्ण खोप नगर घोषणा गर्ने कार्यक्रम पनि तय गरेको छ ।
नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षमुनिका क्यान्सर पीडित बिरामीको उपचारमा विेशष आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रवक्ता रबिन्द्र सापकोटाले वताए ।
प्रतिक्रिया दिनुहोस्