राजनीति

अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : महामन्त्री थापा



काठमाडौँ, २० असार । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, “अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । र तत्काल छानबिन गर्नुपर्छ । हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन । कसैले सामान्य मानविय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन । यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ । वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने । छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो । दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्नेकुरा थाहा भयो ।”