काठमाडौँ, २१ असार । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलन राजधानीमा सुरू भएको छ ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा कार्यरत आठ लाख श्रमिकले आफ्नो नाम, काम लुकाएर काम गर्नुपर्ने वाध्यताको अन्त्य गर्दै कामको सम्मानका लागि आवाज बुलन्द पार्नका लागि सम्मेलनको आयोजना गरेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले श्रमिकको मानवअधिकारको रक्षाको हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विश्वास नेपालद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै स्वतन्त्र रूपमा काम गरेर पहिचानसहित श्रमिक बाँच्न पाउने मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष मगरले विभिन्न अध्ययनले रात्रीकालिन मनोरञ्जन क्षेत्रको विकृतिका बारेमा गरिएको अध्ययनले बालबालिकालाई काममा लगाइएको, श्रमिकहरू यौन हिंसा, दुव्यर्वहारमा पर्ने, समयमा तलब नपाउने, बेचविखनमा पर्ने जोखिम बढि रहेको र समाजमा पनि इज्जत नदिने प्रवृत्ति पाइएको बताउँदै काम आफैंमा सानो हुन्न, श्रम ऐन कार्यान्वयन गरेर देशभित्रै बाँच्ने वातावरण बनाउन सरोकारवाला निकायसँग आयोगले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विश्वास पे्रेरणा राष्ट्रिय श्रमिक सञ्जालका कार्यकारी अध्यक्ष चन्द्रिका ओझाले यस क्षेत्रमा काम गर्ने कलाकार, श्रमिकलाई राती काम गरेको कारण ढेरा पाउन मुस्किल र घरपरिवार, समाजमा नाम÷काम ढाँटेर हिड्नुपर्ने वाध्यताको अन्त्य होस्, भन्नुभयो । त्यसैगरी शान्तिमाया तामाङले रात्रीकालीन व्यवसायमा मद्यपान÷धुम्रपान अत्यधिक चल्ने, ठूलो स्वरमा गीत बज्ने भएकोले त्यहाँ कार्यरत विशेष गरी साना उमेरका श्रमिकको स्वास्थ्यमा असर पर्ने बताउनुभयो ।
प्रहरी उपरिक्षक दानबहादुर मल्लले आर्थिक वर्ष २०७५/७६ देखि गत जेठ महिनासम्मको तथ्याङ्क अनुसार तीनसय छयासी जना बैदेशिक रोजगारीको बहानामा बेचविखनमा परेकामध्ये दुईसय एकजना महिला छन् भन्दै यस क्षेत्रमा काम गर्ने श्रमिकलाई दलालले बढि झुक्याउने गरेको पाइएको बताउनुभयो । उहाँले केही सिप सिकेर/बुझेर मात्र यस क्षेत्रमा काम गर्न जादा ठगिने सम्भावना कम रहेको र इज्जतसाथ काम गर्दा समस्या परे सहेर नबसी प्रहरीकोमा जान आग्रह गर्नुभयो ।
संविधान सदस्य पेम्बा लामाले श्रमको मर्यादाका लागि ल्याइएको ‘श्रम ऐन’ सबै क्षेत्रका श्रमिकका लागि हो, यसको कार्यान्वयनले रात्रीकालिन व्यवसायमा हुने विकृतिलाई अन्त्य गर्न सहयोगी हुने बताउनुभयो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले पहिले यस क्षेत्रको व्यवसायलाई राज्यले संरक्षण, चासो नदिएको व्यवसायीकै पहलबाट हाल व्यवसायले पहिचान पाउन थालेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा विकृति रहेको स्वीकार्दै आन्तरिक÷बाह्य पर्यटकलाई सत्कार गर्ने यस व्यवसायलाई मर्यादित, विकृतिमुक्त बनाउन श्रमिक, व्यवसायी र सरोकारवाला संस्थाहरूको साझेदारीमा अभियान जारी रहेको बताउनुभयो । एटविनका अध्यक्ष सिता पौडेलले नीजि क्षेत्रले देशभित्रै सिर्जना गरेको व्यवसायमा रोजगारी गर्ने श्रमिकको श्रमको मर्यादा पनि कायम गराउने अभियान सफल पार्न साझेदार संस्थाहरूसँग आग्रह गर्नुभयो ।
गत वर्ष आयोजित मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकको पहिलो राष्ट्रिय सम्मेलनले यस क्षेत्रलाई मर्यादित बनाउने, कला र गलाको प्रयोग गरी खाने वर्गलाई पहिचान दिलाउनेलगायतका १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्