समाचार

आजको मौसम



काठमाडौँ, २३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान तीनवटा प्रदेशमा पानी परिरहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकोछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।