काठमाडौँ, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अधोगति नरोके श्रीलंकाको अवस्थामा पुगिने बताएका छन् ।
आज काठमाडौँमा सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारको अहिलेको काम कारबाहीले मुलुकलाई श्रीलंकाको अवस्थातर्फ अघि बढाएको बताएका हुन् ।
उनले भने, “यही ढंगले जाने हो भने अधोगतिमा ब्रेक नलागे कम्तिमा पनि श्रीलंकाको अवस्थामा पुगिन्छ । त्यसअघि के हो भन्न सकिन्न । तसर्थ हामी अहिले नै सतर्क हुनुपर्छ ।” उनले हतियार खरिदमा रक्षामन्त्रीले र गृहमन्त्री मात्रैले गर्न नसक्ने र बजेटमा पनि अर्थमन्त्रीको मात्रै बदमासी नभएर पृष्ठभूमिबाट टेको दिइएको आरोप लगाए । त्यसको प्रभावले श्रीलंकाको हालतमा पुगिने उनको भनाइ छ ।
“अर्थमन्त्री एउटै पनि त्यो चल्दैन । हतियार खरिद प्रकरणमा वा अरू प्रकरणमा चलाइने गरिएका कुराहरू । पृष्ठभागबाट गरिएको समर्थन र टेकोले यो उचाइ सहज छैन,” उनले भने, “त्यसको प्रभाव कम्तीमा पनि हामी श्रीलंकासम्म पुग्ने लक्षण नै देखिन्छ । यस अधोगतिमा ब्रेक लगाइँदैन भने श्रीलंकाभन्दा उधो खस्न सक्छ ।”
उनले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले नचलाएको आरोप लगाएका छन् । उनले प्रश्न गर्दै भने, “सरकारले कसले चलाउँछ ? सरले कि मेडमले ? दिदीले चलाउनुहुन्छ कि भाइले ? भिनाजुले कि सालोले ? कसले चलाउनुहुन्छ ?”
उनको यो प्रश्न प्रधानमन्त्री पत्नी आरजु राणाप्रति लक्षित थियो । त्यस्तै उनले नेकपा माओवादी केन्द्रसँग गठबन्धन हुन नसक्ने संकेत गरेका छन् । “जस्तो पनि गठबन्धन बनाए हुन्छ भनेको भए यो गठबन्धन टुटिसक्थ्यो,” उनले भने, “एमालेका लागि गठबन्धनको हेराफेरि, आफ्नो भूमिकाको हेराफेरि होइन । देशमा कुशासनको ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिँदैन भन्ने हो । मैले गठबन्धन बनाएर र चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन हुँदैन । हामीले कहिलेकाहिँ देख्छौँ विहे र डिभोर्स लगातार । डिभोर्स साँचो हुन्छ विहे चाहिँ नक्कली हुन्छ । त्यसकारण यो साँचो डिभोर्स गर्नका लागि नक्कली विहे गर्न एमाले हतार गर्दैन ।”










प्रतिक्रिया दिनुहोस्