समाचार

कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु



विराटनगर, ३२ असार । विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए । त्यसपछि फैलन सुरु भएको ज्वरोले अहिले प्रकोपकै रूप लिएको छ । ज्वरो अत्यधिक आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैचा नगरपालिका-४ घर भएका कैदीबन्दी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेकामा दिउँसो पौने ३ बजेतिर मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले बताए । कोरोना परीक्षण नगरिकन शव परिवारका सदस्यले बिहीबार नै बुझेर लगिसकेका छन् । मृतक नेपाल अन्य रोगको बिरामीसमेत रहेकाले नियमित औषधि सेवन गरिरहेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।