Banner News

बाबुराम भट्टराईद्वारा नयाँ पार्टी पुनर्गठन गर्न अपिल



काठमाडौँ, ३२ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गर्नुभएको छ ।

शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको डा. भट्टराईको स्पष्टोक्ति छ ।

डा. भट्टराईले विज्ञप्ति भन्नुभएको छ ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ ।’

भट्टराईले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको आरोप लगाउनुभएको छ । उहाले विज्ञप्तिमा भन्नुभएको छ, ‘ पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।’