Banner News

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला : उपमहासचिव ज्ञवाली



काठमाडौँ, २ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।

आज काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालो धनलाई सेतो बनाउन अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए ।

उपमहासचिव ज्ञवालीले आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए ।

“कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट । स्रोत देखाउनुस् भन्यो स्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरु छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरु कुनै पनि महत्वका छैनन् । यो स्रोत गलत हो भन्छ,” उनले भने, “मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नू । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् ।”