समाचार

हालसम्म देशभरि धान रोपाइँ ६० प्रतिशतमात्र



काठमाडौँ, ४ साउन । देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो ।

कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा (८७ प्रतिशत) रोपाइँ भएको छ ।यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ७५ र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ भएको छ ।

सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा जिल्लागत विवरण हेर्ने हो भने धनुषामा ३५, महोत्तरीमा ३०, सर्लाहीमा ३५, पर्सामा ४२, बारामा ४०, रौतहटमा ३२, सप्तरीमा ५० र सिरहामा ४२ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ चार लाख पाँच हजार हेक्टरमा धान खेती हुन्छ, जबकि हालसम्म एकलाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यसरी कम रोपाइँ हुनुको मुख्य कारण मल र सिँचाइको अभाव नै रहेको कृषि विभागले जनाएको छ ।