समाचार

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा



काठमाडौँ, ४ साउन । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टका अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ ।

पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।

नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ ।