काठमाडौँ, ६ साउन । संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार करिब ३ घण्टा बयान लिएको छ । बिहान साढे ८ देखि साढे ११ बजेसम्म बयान लिइएको हो । चालू आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको’ भन्ने आरोप विषयमा शर्मासँग समितिले बयान लिएको हो ।
संघीय संसद् सचिवालयमा लिइएको बयानपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग सोधिएका प्रश्नको जवाफ दिएको प्रतिक्रिया दिए । समितिका एक सदस्यका अनुसार बयानक्रममा शर्माले ‘बजेट निर्माणमा बाहिरका मान्छे प्रवेश नगरेको’ दाबी गरेका छन् । ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटिभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्योबारे मलाई केही जानकारी हुँदैन,’ शर्माको बयान उद्धृत गर्दै ती सदस्यले भने ।
यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । छलफलमा सहभागी गराई बयान लिइसकेकामा अर्थसचिव मरासिनी र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्