भक्तपुर, ७ साउन । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले राष्ट्रघातको चाँङ लगाएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगरपालिका वडा नं. ५ कमिटी गठनको क्रममा आफ्नो धारणा राख्दै उहाँले गठबन्धन सरकार आएसँगै एमसीसी, एसपीपी तथा नागरिकताको विषयमा राष्ट्रघात गरेको दावी गर्नुभयो । विश्वको विशाल राष्ट्रहरु चीन र भारतको बिचमा रहेको सानो देश नेपालले शक्तिशाली मुलुकहरुको सैन्य अखडा बनाउनु नहुने उल्लेख गर्दै सरकारले एमसीसी तथा एसपीपी सम्झौता गरी नेपालमा महाशक्ति राष्ट्रहरुले खेल्ने ठाउँ बनाएको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान पाँच दलीय गठबनधनको सरकार बनेसँगै राष्ट्रघातका अनेकैं घटना तथा चाँङहरु बढ्दै गएका छन् । एमसीसीको व्याख्यात्मक टिप्पणी गरी जवरजस्त रुपमा संसदबाट पास गर्यो । त्यसपछि एसपीपीमा समावेश गर्ने निर्णय गरी महाशक्ति राष्ट्रहरुले नेपालमा सैन्य सहभागिता बढाई एक देशले अर्को देशको विरुद्ध खेल्ने अवस्था बन्दै छ । जसले गर्दा नेपालको असंग्लनताको सिद्धान्तलाई समेत धज्जी उडायो । त्यस्तै हिजोमात्र संसदबाट बहुमतको आडमा विदेशी महिलाले नेपालमा विवाह गर्दा एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता पाउने गरी निरंकुश तवरले विधेयक पास गर्यो । एमालेले अंगिकृत नागरिकताको विषयमा सात वर्ष पछि मात्र पाउने व्यवस्था गर्नुपर्ने अडान राख्यो तर बहुमतका भरमा गठबन्धन सरकारले नागरिकतामा समेत राष्ट्रघात गर्यो । आम नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्ने एमालेको प्रष्ट धारणा हो तर अंगिकृत नागरिकले विवाह गर्ने वित्तीकै नागरिकता पाउने व्यवस्थाले दिर्घकालमा ठूलो समस्या उत्पन्न गराउँछ । त्यसैले यस्ता कुराहरुमा विगतमा पनि राष्ट्रिय युवा संघले देशभर राष्ट्रको पक्षमा आन्दोलन गरेको थियो र अब पनि राष्ट्रघातको विरुद्धमा सोही अनुसार अगाडी बढ्नुपर्छ । जनता र नेपालको पक्षमा जहिले पनि सतिसाल झैं उभिनुपर्छ ।’
युवाहरु सामाजिक कामको साथमा विकास निर्माणमा समेत जोडिएर अगाडी बढ्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले आफ्नो ठाउँको जनताको माग र चाहना अनुसारको योजनाहरु सहितको सामाजिक काममा अगाडी बढ्न संघका कार्यकर्तालाई निर्देशन दिनुभयो । युवाका योजनामा आफुहरु जहिले पनि सहयोगी बन्ने विश्वास दिलाउँदै उहाँले भक्तपुरमा गठबन्धन सरकारले विकासका आयोजनाहरु कटौती गरेता पनि बजेटको अभाव नहुने प्रतिवद्धता जनाउनुभयो । आगामी दिनमा अगाडी बढ्ने योजनाहरु तय गरी अगाडी बढ्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी तथा जनसंगठनको औपचारीक च्यानलबाट अगाडी बढ्न युवाहरुलाई निर्देशन समेत दिनुभयो ।
एमालेको विरुद्धमा विभिन्न प्रकारका अनावश्यक भ्रमहरु फैलाई मध्यपुर थिमी नगरपालिकामा गठबन्धनले स्थानीय तहमा विजय हासिल गरेको उल्लेख गर्दै उहाँले कांग्रेस भनेको भ्रष्टाचारको पर्यायवाची शब्द स्थापीत भएको दावी गर्नुभयो । एमालेले भक्तपुरमा गरेको विकासलाई जनताको माझमा व्यापकमात्रामा लैजान जरुरी रहेको उल्लेख गर्दै उहाँले युवाहरुले एमालेको कामको प्रचार तथा गठबन्धन सरकारले गरेको नकरात्मक कुराहरुलाई जनताबीचमा लैजान पार्टी तथा संघका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्