राजनीति

स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीको उत्पादन बृद्धि र बजारीकरण गर्नुपर्छ: प्रधानमन्त्री देउवा



काठमाडौँ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन बृद्धि र बजारीकरण गर्न जोड दिएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक बृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यबृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य दुवै चाप परेको स्थिति छ । बढ्दो उपयोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेको उत्पादनमुलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्वमा बढ्दो बेरोजगारी आदीका कारण मुलुकको अर्थतन्त्रलाई थप सुदृढ गर्न हामी सबैले बुद्धिमतापूर्ण ढंगले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ । यसका लागि सरकार र निजी क्षेत्र दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यक्ता छ । अर्थतन्त्रको सुदृढीकरणको लागि उद्यमी व्यवसायीहरुले विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न र उपयोग बढाउनतिर मात्र नलागेर स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पु¥याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्दछु । कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउन तपाईहरुले आफ्ना पुँजी, प्रविधिहरुलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । साथै विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक छ ।’

यसका साथै प्रधानमन्त्री देउवाले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरु जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने, तथा पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने, निकासीजन्य उद्योगहरुको बिस्तार गर्ने, निर्यात वृद्धिमार्फत व्यवसाय घाटालाई घटाउन, उपयुक्त वस्तु, विलासिताका वस्तु तथा सेवाको आयात उपयोगलाई निरुत्साहीत गर्ने रेमिटेन्स आप्रवाहलाई औपचारिक माध्यमबाट आउने बनाइ प्रोत्साहित गर्ने लगायतका विविध कार्यक्रमहरुमा सरकारले सक्रिय सहयोगको अपेक्षा गरेको बताए ।

उनले भने, ‘उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिनपनि आग्रह गर्दछु । तत्कालीन लाभ लिने क्षेत्रमा भन्दापनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासको लागि आवश्यक श्रोत, साधन र सहयोग पु¥याउने क्षेत्रमा लगानी बिस्तार गर्न आवश्यक छ । मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।’

उनले फेरि भने, ‘निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरु, उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध छ । मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास विना आर्थिक विकास र समृद्धि आउन सक्दैन । निजी क्षेत्रको बलियो संलग्नता बिना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन सकिँदैन । यसलाई आत्मसाथ गरी निजी क्षेत्रलाई उचित वातावरणको लगानी गराउने वातावरण सिर्जना गरी सरल र सहज रुपमा उद्यम, व्यापार सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै आइरहेको छ ।’

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताए । उनले मौद्रिक नीतिमा मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पु¥याउने लक्ष्य रहेको बताए । प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरुसँग आग्रह गरे ।

उनले भने, ‘‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ । यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पु¥याउने नीति छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरुको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रासामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न रोजगारीका अवसरहरु सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु ।’

प्रधानमन्त्री देउवाले देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको भन्दै स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरी देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरु सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन सहयोग पु¥याउन आग्रह गरे ।