काठमाडौँ, १६ साउन । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।
राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
काठमाडौँका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको छ । आउँदो बुधबारसम्म्म देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्