जनकपुरधाम, १८ साउन । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आज पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मन्त्री साहले भने, ‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवा ,गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझायौँ, तर प्रहरी समायोजनको सवालमा भने कोही पनि गम्भिर देखिएनन् ।’
यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायेजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए ।
सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनको भनाइ छ । “निर्वाचनको मिति तय हुनसकेको छैन । वर्तमान संघीय सरकार संघीयताप्रति गम्भीर देखिँदैन । मधेस प्रदेशलगायत तमाम प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो । त्यसमा प्रहरीको अभावमा समस्या आएको छ,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्