राजनीति

प्रचण्ड र माधव नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना छैन : महासचिव पोखरेल



रुपन्देही, २३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले प्रचण्ड र माधव नेपाल सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाबेला उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने दाबी गर्नुभयो । विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने टिप्पणी जिकिर गर्नुभयो । माओवादी र नेकपा (एकीकृत समाजवादी) विचार, गन्तव्य, लक्ष्यमा दुविधा रहेका पार्टी भएको महासचिव पोखरेलले आरोप लगाउनुभयो ।

पोखरेलले माओवादी र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको जनाउँदै यी पार्टीबाट मुलुक समृद्धिको सपना नदेखे हुने जनाउनुभयो । महासचिव पोखरेलले एमालेको मुख्य प्रतिष्पर्धा कांग्रेससँग नै रहेको जनाउनुभयो ।