अर्थ

विद्युत प्राधिकरणको नाफामा छलाङ



काठमाडौँ, २६ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो ।

ठूला उद्योगमा चाहिएजति बिजुली पु-याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो । गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पु-याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ । “आफ्नै आयोजनाको बिजुली, विद्युत् चुहावट नियन्त्रण, आन्तरिक खर्च नियन्त्रण, अन्य आम्दानी वृद्धिजस्ता कारण खुद नाफा बढेको हो,” उनले भने । यससँगै सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।