Banner News

फोहोर उठाउन सरकारको हुती छैन : सांसद भट्टराई



काठमाडौँ, २९ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले काठमाडौँको ‘फोहोर उठाउन सरकारको हुती नभएको’ बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले काठमाडौँमा फोहोर नउठाइएको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको आरोप लगाए ।

उनले भने, ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन् । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला हैजालगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङडुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन् । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु- आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ । यदि सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंको सबै मिलेर रक्षा गरौं धन्यवाद ।’

उनले काठमाडौँमा फोहोर नउठाइँदा हैजा र झाडापखालाको महामारी साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा रहेको बताए । फोहोर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आग्रह पनि गरे । वर्तमान सरकारको भर परे मेयर बालेन असफल हुने उनको भनाइ छ ।