राजनीति

कारागार र बन्दीको न्यूनतम सुविधा सरकारले व्यवस्थापन गर्छ : गृहमन्त्री खाँण



काठमाडौँ, ३० साउन । गृहमन्त्री बालकृष्ण खाँणले देशैभरका कारागारको भौतिक संरचना निर्माण र बन्दीहरुले प्राप्त गर्नुपर्ने न्यूनतम सुविधा व्यवस्थापनमा सरकार अघि बढेको बताउनुभएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज उहाँले देशैभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको स्वीकार गर्दै व्यवस्थापकीय सुधारमा प्रयत्नशील रहेको बताउनुभयो । कारागार र कैदीबन्दीको व्यवस्थापनमा थुप्रै चुनौतीहरू रहे पनि संसद्मा विचाराधीन कारागार विधेयक आएपछि केही सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “चार स्थानमा नयाँ कारागार भवन निर्माण भइरहेको छ र यसै वर्ष आठ वटा नयाँ कारागार भवन निर्माणका लागि बजेट व्यवस्था भएको छ । विगत धेरै वर्षअघि निर्माण भएको कारागार सहरका बीचमा परेको र जग्गा अभावका कारण समस्या परेको छ, कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गर्ने सोच रहेको छ ।”