समाचार

होटेलमा पुरुष र युवती मृत अवस्थामा फेला



बुटवल, ३१ साउन । बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत अवस्थामा फेलापरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सिताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।

भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए ।

उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।