काठमाडौँ, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन नीजि क्षेत्रको योगदान महत्वपूर्ण तथा अपरिहार्य रहेको बताउनुभएको छ ।
महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताए ।
उहाँले भन्नुभयो, “स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ । स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु । मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ ।”










प्रतिक्रिया दिनुहोस्