काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले मतदान केन्द्र र स्थललाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक सहयोग र सहजीकरण गर्न भन्दै सरकारलाई ३ बुँदे निर्देशन दिएको हो । आयोगबाट कायम भएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा रहेका संरचना संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थनमा खानेपानी शौचालय, विद्युत्, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारबार तथा सञ्चारजस्ता सुविधाको आवश्यक व्यवस्था तथा मतदान केन्द्रलाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउन आयोगले दिएको निर्देशनमा उल्लेख छ ।
आयोगले मंसिर ४ गते हुने आमनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामस्थित उपयुक्तस्थल र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँगसमेत समन्वय गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवन यकिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै, निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा सरकारी कार्यालय भवनको व्यवस्था गर्न र नभए भाडामा लिन पनि निर्देशन दिएको हो ।
निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर, विद्युतीय सामान, सवारी साधनलगायत भौतिक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न आयोगले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्