राजनीति

महिलाहरु शिखर चुम्ने चरणमा छौं : सचिव अर्याल



भक्तपुर, ६ भदौ । नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले महिलाहरु मुलुकको शिखर चुम्ने चरणमा रहेको बताउनुभएको छ ।

करिव १५ सय महिलाको उपस्थितीमा अखिल नेपाल महिला संघ भक्तपुरको आयोजनामा भएको कार्यक्रममा बोल्दै सचिव अर्यालले समय र आवश्यकता अनुसार परिवर्तित अवस्थामा महिलाको भूमिका र जिम्मेवारी पनि मुलुक निर्माणको जिम्मेवारी महिलाको काँधमा आएको बताउनुभयो । जिल्ला अध्यक्ष उत्तरा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचिव अर्यालले अनेम संघकै आन्दोलनबाट नेपालमा महिलाको हक अधिकार संवैधानिक रुपमा स्थापीत भई नेपालको महिला राष्ट्रपति बनाउन सफल भएको स्मरण गराउनुभयो । अनेम संघकै नेता विद्यादेवी भण्डारी अहिले राष्ट्रपति रहनुभएको उल्लेख गर्दै उहाँले महिला समानता, विभेद, अत्याचारको अन्त्य गर्दै न्यायको लागि मेरुदण्डको रुपमा अनेम संघ रहेको दावी गर्नुभयो ।

परिवर्तनको निम्ती झण्डा बोक्नु नपर्ने, न्यायाको निम्ती आन्दोलन गर्नु नपर्ने कुराको थालनी गरी ३३ प्रतिशत हक अधिकार स्थापीत गरी समानताको निम्ती अगाडी बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अनेम संघकै उपलब्धी स्वरुप तल्लने घरको माईली, साईली, माथिल्लो घरको माइली साईली भन्नेहरुले अहिले राष्ट्र हल्लाउने ठाउँमा पुगेका छन् । हिजो फलनाको श्रीमति, छोरी, बुहारी भनेर सम्बोधन हुने अवस्थाबाट अहिले फलना नेतृको श्रीमान, आमाबुवा, छोरा छोरी भनेर सम्बोधन हुने गरेको छ । आफ्नो पहिचान स्थापीत भइरहेको छ । उकालो चढिरहेका छौं । शिखर चुम्ने चरणमा छौं ।’