एजेन्सी, ७ भदौ । रूससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएको युक्रेनले जनाएको छ । झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले विवरण सार्वजनिक गरेको हो ।
युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको समेत बताएको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्