काठमाडौँ, ८ भदौ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज देशका विभिन्न भागमा मौसममा बदली र वर्षा हुने भएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ । त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्