विश्व

कुवेतमा दुई नेपालीको मृत्यु



काठमाडौँ, ८ भदौ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपालीको मृत्यु भएको छ ।

काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेका थिए । उनी पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए । गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो । मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी, कुवेतमा बारा सिमरा घर भएका जीवन लामाको पनि मृत्यु भएको छ । लामाको हिजो मंगलबार कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लामाको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासले पाएको भन्दै उनको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । २०१७ मा कुवेत पुगेका मृतक लामा पनि आफू कार्यरत कम्पनी छाडेर अवैधानिक तरिकाले अन्य कम्पनीमा कार्यरत रहेको बताइएको छ ।