समाचार

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ, ९ भदौ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाइदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।