राजनीति

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्व जर्नेलहरूसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई



काठमाडौँ, ९ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्व जर्नेलहरूसँग परामर्श गरेको बताएका छन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन ।’ नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा ‘राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’

राष्ट्रपतिले आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै आउने भएपछि राष्ट्रपति भण्डारीले परामर्श र छलफललाई तीव्रता दिएकी छन् । सोहीक्रममा बुधबार उनले नेपाली सेनाका पूर्व जर्नेलहरूसँग छलफल गरेकी थिइन् ।