काठमाडौँ, १० भदौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थप गरीएको छ ।
एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।
यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट ३ हजार १ सय ३० र दोस्रो चरणको परीक्षाबाट ३ हजार ७ सय ८३ गरी कुल ६ हजार ९ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो । उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट ६ हजार ७ सय ५२ र दोस्रो चरणबाट ८ हजार १ सय ६१ गरी कुल १४ हजार ९ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार ९ सय र कृषितर्फ नौ हजारले फारम भरेका थिए ।
उत्पादनतर्फको पहिलो चरणको परीक्षा गएको साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने ईपीएस कोरिया शाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्