राजनीति

झापा १ बाहेक अन्यत्र चुनाव लड्दिनँ, यो पटक पास हुन्छु: महामन्त्री शर्मा



काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।

काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट चुनाव नलड्ने बताए । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरेका थिए । ‘यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु,’ उनले भने। चुनाव जित्ने दाबी गरेका शर्माले ‘तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने’ बताए।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने पनि बताए । उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको बताए।