वीरगञ्ज, १९ भदौ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको छ ।
मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेको र समयमै प्रहरी पुगेर रोक्न सफल भएका प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्