काठमाडौँ, २१ भदौ । अवैध लागुऔषध खैरो हेरोइनसहित आठजनालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।
ब्युरोले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित तीन जना र २४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर भैँसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै, काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
उनीहरुलाई लागुऔषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचीनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरिएको छ । त्यस्तै ब्युरोले लागुऔषध २५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको पनि जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्