समाचार

आज इन्द्रजात्रा : कुमारी रथयात्रा हुँदै



काठमाडौँ, २४ भदौ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन कुमारी रथयात्रा हुँदैछ ।

आज दिउँसो कुमारीको रथलाई काठमाडौँको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात आश्विन कृष्ण चौथीका दिन मङ्गलवार ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ । त्यस्तै आज भक्तपुरमा सिद्धपोखरी मेला सुरु हुँदैछ।