राजनीति

निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन: महासचिव पोखरेल



काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।

शुक्रबार भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले पार्टीले राजनीतिक रूपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका हुन् । जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उनले बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए । त्यस अवसरमा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, युवा संघका विभिन्न नेताहरूले निर्वाचनमा युवाले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए । रासस