राजनीति

समानुपातिकमा १० प्रतिशत उम्मेदवार अनिवार्य



काठमाडौँ, २७ भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्द सूची पेस गर्दा कानुनअनुसार कम्तिमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ । आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका र रुजुसूची सार्वजनिक गरेको हो । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तिमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्ने जानकारी दिए । सो विषय निर्वाचन निर्देशिकामा उल्लेख छ । ‘प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तीमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्छ, प्रतिनिधिसभामा भाग लिने दलले समानुपातिकतर्फको कुल संख्या १ सय १० को १० प्रतिशत अर्थात् कम्तिमा ११ जनाको नाम बन्दसूचीमा पेस गर्नुपर्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

यसैगरी प्रदेश सभातर्फसमेत प्रदेशमा हुने समानुपातिकतर्फको कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत उम्मेदवारको नाम दलले बन्द सूचीमा समावेश गर्नुपर्नेछ । त्यसरी पेस गरिएको बन्द सूचीमाथि आयोगले ४ देखि ९ असोजसम्म छानबिन गर्नेछ र कानुनअनुसार नभएमा सच्याउन दललाई सूचित गर्नेछ । आयोगले कागजात जाँचबुझ गरेपछि दललाई १० देखि १६ असोजसम्मको समय बन्दसूची सच्याउन दललाई उपलब्ध गराउनेछ । तर, कानुनअनुसार बन्दसूची पेस नभएमा आयोगले स्वीकार गर्ने छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।