धनुषा, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताउनुभयो । आज नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उहाँले भन्नुभयो, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।’ उहाँले पछिल्लो १४ महिनामा गठबन्धन सरकारले देशलाई बर्बादीतिर लगेको आरोप पनि सुनाउनुभयो । त्यसकारण पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उहाँको भनाइ छ ।
‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ,’ उहाँले भन्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो,‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’ गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पुर्याउने खेल खेलिरहेको आरोप लगाउँदै उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘गठबन्धन जोगाउने, गठबन्धन जिताउने, गठबन्धनको सरकार बनाउने अनि गठबन्धनका नेताले बाँडीचुँडी खाने, आफ्नो नातागोता, आफ्नो गुट पोस्ने बाहेक अर्को उद्देश्य छैन ।’










प्रतिक्रिया दिनुहोस्