भक्तपुर, २८ भदौ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ र ४ को सीमानामा पर्ने चरखण्डी खोलामा निर्माण गरिएको पुल उद्घाटन गरिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एक विशेष कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
संघीय सरकारबाट विनियोजित एक करोडको बजेटमा निर्माण गरिएको उक्त पुल उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतको साढे चार वर्ष तीन वटै तहको सरकारको लाभ लिन सफल भएकाले नै जिल्लामा विकासले ऐतिहासिक फड्को मारेको दावी गर्नुभयो । आफ्नो कार्यकालमा संघीय सरकारबाट मात्रै करिव साढे २६ अर्व बजेट ल्याई विकासका नयाँ आयामहरुलाई तिव्र गतिमा अगाडी बढाएको जानकारी गराउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खानाललगायतको क्षेत्रभन्दा बढी विकास भक्तपुर क्षेत्र नं. २ मा भएको उल्लेख गर्नुभयो ।
विविध कारणले केही आयोजनाहरु निर्माण सम्पन्न गर्न समस्या भएको उल्लेख गर्दै उहाँले उक्त आयोजनाहरु निर्माण हुनेमा विश्वास दिलाउनुभयो । सडक पूर्वाधारको निर्माण सम्पन्न भएको घोषणा गर्ने चरणमा आफ्नो क्षेत्र रहेको बताउँदै उहाँले तीन वटै तहको सरकारबाट विनियोजित बजेटबाट करिव ३९ वटा पुलहरु बनेको जानकारी गराउनुभयो । पुल निर्माणमा भक्तपुर नेपालकै नमुना बनेको दावी गर्दै उहाँले अध्ययन अनुसन्धानको लागि सूर्यविनायक आउने अवस्था बनेको बताउनुभयो ।
एमाले आगामी मंसिर ४ पछि जनमतबाट सरकारमा जाने र भक्तपुरमा निर्माणको क्रममा रहेका स्मार्ट सिटी, कवोर्ड हल, सूर्यविनायक धुलीखेल सडक, प्राणी उद्यान, सभागृह लगायतका ठूला ठूला आयोजनाहरु निर्माण प्रकृया अगाडी बढाउने उल्लेख गर्दै उहाँले वर्तमान पाँच दलीय गठबन्धनको सरकार विकास निर्माण गर्ने नभई ध्वसं गर्ने, आयोजना रोक्नको लागि मात्र भएको भन्दै आक्रोस जनाउनुभयो । एमालेको नेतृत्वले गरेको काम देखेर विपक्षीको मुटु कामेको उल्लेख गर्दै नेता बस्नेतले भ्रष्टाचारको गोल्ड मेडल कांग्रेस, सिल्भर मेडल माओवादी पाउने तर एमालेलाई एक इन्च समेत भ्रष्टाचार प्रमाणीत गर्न नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद शसी जंग थापा, सूर्यविनायक नगरपालिकाको उपप्रमुख सरिता भट्टराई, नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा समाजसेवी किरण थापा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्त, वडा नं. ४ का वडा सदस्य विदुर खड्कालगायतका समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्