राजनीति

सूर्यविनायक नगरपालिकाद्वारा व्यवसाय दर्ता अभियान



भक्तपुर, १ असोज । नेपालकै नमुना नगरपालिका बनाउने उद्घोषका साथ सूर्यविनायक नगरपालिकाले एक पछि अर्को जनमुखी कामहरु अगाडी बढाई रहेको छ । विकास र समृद्धिको साथ साथै सुशासनलाई पहिलो प्राथमिकतामा राखेर नगरप्रमुख बाशुदेव थापा तथा उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा रहेका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु एक ढिक्का भई होष्टेमा हैंसे गरिरहेका छन् ।

नगरपालिका क्षेत्र भित्र साना तथा ठूला व्यवसायहरु सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्नेका साथ साथै नगरवासीहरुमा आत्मनिर्भताको पथमा समेत नगरपालिका तथा जनप्रतिनिधिले विशेष रणनीति बनाई अगाडी बढाएको छ । यसै क्रममा नगरपालिकाले असोज १ गतेदेखी पौष मसान्तसम्म व्यवसाय दर्ता अभियान सञ्चालन गर्ने भएको छ । असोज १ गते शनिवार परेकाले २ गतेदेखी नियमित रुपमा व्यवसाय दर्ताको अभियान सञ्चालन गर्ने भएको हो ।

‘नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण व्यवसायीलाई राजश्वको दायरामा ल्याउने उद्देश्यका साथ असोज १ गतेदेखी पौष मसान्तसम्म अभियान सञ्चालन गर्न लागेका छौं’, नगरप्रमुख थापाले भन्नुभयो, ‘हालसम्म दर्ता नभएका व्यवसायीलाई यस अभियानमा दर्ता हुन आएमा जरिवाना छुटको व्यवस्था गरेका छौं । प्रचलित कानुन अनुसार कुनै पनि व्यवसाय स्थानीय तहमा दर्ता नभई सञ्चालन गर्न नपाउने भएकाले छुटको फाईदा लिन नगरपालिकाभित्रका सम्पूर्ण व्यवसायीलाई आग्रह गर्दछु ।’

नेपाल सरकार तथा नगरपालिकाको नियमलाई कार्यान्वयन गर्दै व्यवसाय दर्ता तथा नविकरणलाई व्यवसायीको घरदैलोबाट नै सुविधा दिने उद्देश्यका साथ नगरपालिकाका १० वटै वडा कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । लोकतान्त्रीक व्यवस्थासहित सिंहदरवारमा केन्द्रीकृत रहेको सेवा गाउँमा पुगेको सन्देशको रुपमा समेत उक्त अभियानलाई लिन सकिने नगरपालिकाको बुझाई रहेको छ । अभियानमा दर्ता गर्ने व्यवसायीलाई २०७५/०७५ देखि हालसम्मको जरिवाना छुटको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आर्थिक ऐनभित्र रहेर उक्त अभियान अगाडी बढेको उपप्रमुख भट्टराईले बताउनुभयो । व्यवसायीलाई छिटो र सहज रुपले सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउँदै उहाँले करको दर नबढ्ने तर दायरा मात्र बढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक ऐनभित्र रहेर अगाडी बढेका छौं । व्यवसायीलाई सहज र छिटो तरिकाले काम गर्नेछौं । करको दर नबढ्ने तर व्यवसायको दायरा मात्र बढाएका छौं । न्युनतम रेटमा दर्ता हुनेछ । अभियानले व्यवसायीलाई करको एउटै दायरमा राख्नेछ । व्यवसायीलाई नगरपालिकाको संरक्षण हुनेछ । त्यसको साथ साथै व्यवसायको डाटा राख्ने र त्यसलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ । नगरपालिकाको हरेक विकासको साथ साथै फोहोर व्यवस्थापनमा समेत सहज हुने छ । जसले गर्दा व्यवसायीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाईदै फाईदा पुग्नेछ ।’

व्यवसायलाई कानुनी दायरामा ल्याउनको लागि मात्र नभई व्यवसायीको दिर्घकालिन फाईदाको लागि उक्त अभियान सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताउनुभयो । ‘व्यवसायलाई कानुनी दायरामा ल्याउनेमात्र हैन, व्यवसायीलाई अल्पकालिनमात्र हैन दिर्घकालिन फाईदा पुग्ने गरी अभियान ल्याएका छौं, उहाँले भन्नुभयो, ‘भविष्यमा बैंक तथा वित्तिय संस्थामा आर्थिक गतिविधिलाई बढाउन समेत फाईदा पुग्ने हामीले विश्वास लिएका छौं ।’

अभियानको चार महिना नगरपालिकाका प्रत्येक वडाले आफ्नो काउण्टरले गर्ने सञ्चालन गर्ने भएको छ । नगरपालिकाको अभियान अन्तरगत व्यवसायीको पाँच लाख पुँजीसम्मको वडा कार्यालयबाट नै दर्ता प्रमाणपत्र पाईने छ भने पाँच लाखभन्दा बढी पुँजीका व्यवसायलाई वडा कार्यालयको सिफारिस र आवश्यक कागजातको साथमा नगरपालिका दर्ता प्रमाणपत्र उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । छुट अवधिमा समेत व्यवसाय दर्ता नगरी अटेरी गरेमा नगरपालिकाबाट प्राप्त सम्पूर्ण सेवा तथा सुविधाहरु बञ्चित गरिने नगरपालिकाका बरिष्ठ राजश्व अधिकृत अनिरुद्र नेपालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।