राजनीति

बाराको विकासमा कुनै राजनीतिक घुसपैठ हुँदैन : पूर्वमन्त्री श्रेष्ठ



बारा, ८ असोज । पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताउनुभएको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र सडक तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ ले विकास निमार्णको काममा पछाडी फर्केर हेर्नु नपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले क्षेत्र नं ४ अन्तर्गत पर्ने प्रसौनी, परवानीपुर, फेटा गाउँपालिकाबाट विकास निमार्णका लागि निवेदन आउने क्रम जारी रहेको बताउनुभयो ।

पूर्वमन्त्री किसान श्रेष्ठले भन्नुभयो, ‘खोलामा पुल हाल्ने देखि सयौं पुल, बाटाघाटा, स्कुल निमार्णमा धेरै काम गर्न बाँकी रहेको छ, त्यसको नेतृत्व किसान श्रेष्ठले लिन्छ, गठबन्धनका दलहरुले लिन्छन् । विकास निमार्णको काममा कुनै राजनीतिक घुसपैठ नगरीकन बाराको विकासका लागि हामीले ५ अर्बको बजेट शहरी विकास मन्त्रालयमा पेश गरिसकेका छौ । सबै ठाउँको भन्ने बित्तिकै एकै दिन नहोला तर बारा जिल्ला क्षेत्र नं ४ को विकासको लागि बिगुल फुक्यो, यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा पनि म गर्न चाहन्छु । यहाँको टोल टोल र गाँउ गाउँको विकास गरेर बेरोजगारलाई रोजगारी दिलाउने कुरामा म लाग्ने कुरामा प्रतिवद्धता जनाउँछु ।’

तनहुँ क्षेत्र नं १ का संघीय सांसद श्रेष्ठले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ बाट उम्मेदवारी दिने निश्चित भएको छ ।