समाचार

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र



काठमाडौँ, १६ असोज । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।

जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ ।

यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन् । निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो । नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन् । यो समाचार कारोबार दैनिकमा छ ।