Uncategorized

कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्न आधार र मापदण्ड तय



काठमाडौँ, १८ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइनेछ । त्यस्तै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने पौडेलले जानकारी दिएका छन् ।