काठमाडौँ, १८ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दवावका कारण तुहाइने गरेको आरोप लगाउनुभएको छ ।
सोमबार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानुनहरु संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दावी गर्नुभयो । मन्त्री कुँवरले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने काममा ठूला नेताहरुले दवाव दिने गरेको बताउनुभयो । उहाँले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया ३ पटक मन्त्रीपरिषदमा पुर्याउँदा समेत एजेण्डा नबनेको गुनासो गर्नुभयो ।
मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तयारी गरिरहेको पनि बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नै यस विषयलाई टुंगोमा पुर्याउने दावी समेत गर्नुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमिकहरुलाई पनि ल्याउन सके कोषले गति लिने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्