काठमाडौँ, २४ असोज । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्