राजनीति

दाङबाट प्रतिनिधिसभा र प्रदेशसभामा ९० जनाको उमेदवारी



दाङ, २४ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार तीन निर्वाचन क्षेत्र भएको दाङमा प्रतिनिधिसभाको तीन सदस्यका लागि ४४ र प्रदेशसभाका छ सदस्यका लागि ४६ जनाले मनोनयन गराएका हुन् ।

यीमध्ये १७ जनाले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ सात जनाको स्वतन्त्र उमेदवारी परेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, प्रदेशसभाका लागि १ (क) मा नौ जना, १ (ख) मा छ जनाको उमेदवारी परेको हो । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २ (क) मा एक स्वतन्त्रसहित आठ र २ (ख) मा पाँचजनाको उमेदवारी परेको हो ।

निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ छ स्वतन्त्रसहित १७ जना, प्रदेशसभातर्फ ३ (क) मा दुई स्वतन्त्रसहित नौ र ३ (ख) मा चार स्वतन्त्रसहित नौ जनाको उमदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीले मनोनयन दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा शान्ता चौधरीको उम्मेदवारी दर्ता भएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा)ले उमेदवारी दर्ता गराएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेका तर्फबाट शङ्कर पोख्रेलले उमेदवारी दर्ता गराएका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वली, राप्रपाका ओजबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । रासस