काठमाडौँ, २७ असोज । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ । केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन । डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो ।
उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका ९१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डाअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फका ९१ सिटमा आफ्ना उम्मेदवार खडा गरेको हो । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा कांग्रेसले ९१ स्थानमा उम्मेदवार खडा गरेको उल्लेख छ ।
प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ । लोसपा नेपालले भने ५१ सिटमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ ।अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाका आधारमा उम्मेदवारी दिएको हो ।










प्रतिक्रिया दिनुहोस्