राजनीति

निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण



काठमाडौँ, १९ कार्तिक । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उमेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको छ ।

शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो । “निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ,” आयोगको स्पष्टीकरणमा भनिएको छ, “उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।”

आयोगले शाहलाई “इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ? हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उमेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ?” भनेर स्पष्टीकरण सोधेको छ ।