काठमाडौँ, २० कार्तिक । ट्राफिक प्रहरीले काठमाडौँको जगाती क्षेत्रमा विशेष जाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध खाएर गाडी चलाएका ४ जना पक्राउ परेका छन् ।
भक्तपुरको जगाती सडक खण्डमा बा ४ ख १९५६, बा २४ प ११४६, बा ७६ प ५३८६ र प्रदेश ३–०२–००६ प ८२६ नम्बरको गाडीका चालक पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जगातीबाटै जाँडरक्सी खाएर चलाएका दुई जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । चालकले लागुऔषध खाएर गाडी चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित साउन ९ गतेदेखि ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो । पछिल्लो समय लागुऔषध खाएर गाडी चलाउनेको सङ्ख्या बढेको पाइएको छ।










प्रतिक्रिया दिनुहोस्