समाचार

अटो दुर्घटना हुँदा एक बालकको मृत्यु, ८ जना घाइते



उदयपुर, २२ कार्तिक । उदयपुरमा अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र.१–०५–००१ ह ००२७ नम्बरको अटो अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किदा पाँच वर्षीय बालकको मृत्यु भएको हो । त्रियुगा नगरपालिका– ४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहरूमा त्रियुगा नगरपालिका– ४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका– १५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ ।